Logo

म कुनै धर्म जातिको नभई सबै नेपालीको मन्त्री हुँ : मन्त्री राई



Spread the love

१५ भदौ, नेपालगन्ज। राष्ट्रिय जनावर तथा हिन्दुको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्ने शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बताएका छन् l

आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै शुक्रवार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद भएको बताउँदै मन्त्री राईले भने,“नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पुर्‍याएको भए यस्तो दुःखद अवस्था सायद आउने थिएन l”

एक प्रश्नको जवाफमा गृह मन्त्रालयले यो घटनाको खोजतलास गर्न समिति गठन गरिसकेकाले सो समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइने मन्त्री राईले बताए ।

नेपालगन्जको विकासमा स्वयंले चुनावका बेला गरेको वाचा र प्रतिबद्धता क्रमशः पूरा गर्दै गएको बताउँदै विकासमा आफूले कहिल्यै पनि धर्म, जात र राजनीतिक आस्थालाई हाबी हुन नदिएको मन्त्री राईले बताए ।

मन्त्री राईले नेपालगन्जस्थित भेरी अस्पतालको स्तरोन्नति, कान्ति ताल, वाटर पार्कको, प्रसिद्ध बागेश्वरी मन्दिर, बहुउद्देश्यीय सभागृह, सडक, पुल तथा पुलेसा निर्माण र जीर्णोद्धारका साथै सामाजिक विकासमा आफ्नो मन्त्रालयबाट काम भइरहेको बताउँदै अर्को एक प्रश्नको जवाफमा मन्त्री राईले भने , “म कुनै धर्म, जातिको मन्त्री होइन, सबै नेपालीको मन्त्री हुँ, कसैले धर्म र जातिका आधारमा मलाई विवादमा ल्याउन खोज्छ भने त्यस्ता पक्षसँग सबै सावधान हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्