Logo

सरकारले, आगामी भाद्र २३ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने



Spread the love

२० भदौ, काठमाडौँ । दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर, सरकारले आगामी भाद्र २३ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने  भएकाे छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार, दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर यही भाद्र २३ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको हाे ।

शुक्रवार बसेकाे सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै विभागमा महानिर्देशक योगेन्द्र गौचनले सुपथ पसल सञ्चालनका लागि सरकारले आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको बताए । साल्ट ट्रडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रूपमा सो सुपथ पसल सञ्चालन गर्ने निर्णय गरिएको बताए ।

यसवर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिने व्यवस्था विभागले गरेको छ । त्यसै गरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरुमार्फत गर्न लागिएको विभागका महानिर्देशक गौचनले जानकारी दिए ।

चाडपर्वका बेला कालोबजारी तथा ठगी धन्दा हुनसक्ने भन्दै महानिर्देशक गौचनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यकामा अर्को हप्ताबाट ८ वटा टोली परिचालन गर्न लागिएको पनि समितिलाई जानकारी दिए ।

उपभोक्तालाई मारमा पार्ने व्यापारीहरुलाई कडा कार्वाही गर्न पनि समितिका सदस्यहरूले सरकारलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्