Logo

हामीे हाम्रो राष्ट्रलाई असर गर्ने काममा संलग्न हुँदैनौं : अध्यक्ष प्रचण्ड



Spread the love

२८ भदौं, इलाम l नेपाल असंलग्न परराष्ट्र नीतिमा स्वतन्त्र भएकाले कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सहभागी नहुने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् l

इलाममा नेकपाले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले आज नेपाल परराष्ट्र नीतिमा स्वतन्त्र भएकाले सैन्य गठनमा सहभागी नहुने बताएका हुन् ।

अध्यक्ष प्रचण्ड भने, ‘हाम्रो विदेश नीति प्रस्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीति नेपालको विदेश नीतिको आधार हो, सिद्धान्त हो, मान्यता हो । त्यसबाट नेपाल कहीँ कतै विचलित छैन, हुँदैन । हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । हामी आफ्नो राष्ट्रको स्वतन्त्रतालाई केन्द्रमा राखेर असंलग्न रहन्छौँ ।’

अध्यक्ष प्रचण्डले हाम्रो परराष्ट्र नीति स्वतन्त्र रहने बताउँदै उनले भने, ‘मलाई लाग्छ, यसमा हामी कोही पनि नेपाली अन्योलमा रहने ठाउँ छैन । हामीे हाम्रो राष्ट्रलाई असर गर्ने काममा संलग्न छैनौँ, हुँदैनौं त्यसमा ढुक्क हुन आग्रह गरे । हामीले हाम्रो छिमेकी राष्ट्र चीन विरुद्ध हाम्रो भूमि प्रयोग गर्न नदिने बताउँदै हाम्रो प्रस्ट र घोषित नीति रहेको छ । इन्डो प्यासिफिक सैन्य रणनीतिसहित आएको अवस्थामा हाम्रो संलग्नता हुँदैन l’

केही दिनअघि चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा प्रचण्डले इन्डोप्यासिफिकलाई ‘तथाकथित’ भनेको र त्यसमा नेपाल संलग्न नहुने बताएको भन्दै सामाचारहरु सार्वजनिक भएका थिए ।

अमेरिकी राजदूतले परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेटेर यस विषयमा नेपालको धारणा स्पष्ट पार्न आग्रह गरेको समाचारको पनि अध्यक्ष प्रचण्डले खण्डन गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘यो कुरामा सत्यता छैन, सरकारलाई कुनै चिठी आएको पनि छैन । आधिकारिक रूपमा के हो भनेर सोधिएको पनि छैन । त्यहाँ काम गर्ने मान्छेका एक जना कर्मचारीले यस्तो आएको छ भनेर बाहिर समाचारमा भनिएको मात्रै हो ।’ आधिकारिक रूपमा न चीनले भन्यो न अमेरिकाले कसैले पनि नभनेको अध्यक्ष प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्