Logo

जबसम्म दोषीलाई कारबाही हुँदैन तबसम्म काँग्रेस चुप बस्दैन : सभापति देउवा



Spread the love

२८ भदौं, काठमाडौँ l मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

आज दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै सभापति देउवाले पार्टीमा छलफल नै नभएको कुरामा काँग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मूर्खताको सिवाय अरू केही नभएको बताए ।

सभापति देउवाले भने, ‘हाम्रो पार्टीमा यो विषयमा छलफल नै भएको छैन। त्यसैले फेरि राजा फर्किने कुरै छैन। काँग्रेसले राजा फर्काउन लागेको छ भन्ने कुरा वाहियात हो l’

सभापति देउवाले प्रहरीको पछिल्लो कार्यको प्रशंसा गर्दै गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी डराउन नहुने बताए l

उनले भने, ‘प्रहरी राष्ट्रको हो । जनताको हो । कुनै दलको होइन । प्रहरी राष्ट्र र जनताप्रति बफादार हुनुपर्छ l’ सर्व साधारणको करबाट तलब खाने हुँदा प्रहरी जनताको शान्ति सुरक्षामा लाग्नुपर्ने सभापति देउवाको भनाइ थियो l

सभापति देउवाले भिन्दै प्रसंगमा नेपाली काँग्रेसको जनजागरण अभियानको सफलता देखेर आत्तिएकाहरू कम्युनिष्टहरूले बाँकेमा काँग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको बताउँदै उनले भने, ‘अधिकानायवादी सोच भएका कम्युनिष्टहरू जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन् । आफूहरूको भ्रष्टाचारको पोल खुल्ने डरले आत्तिएकै कारण आक्रमण गरेका छ्न् l दोषीलाई कारबाही नहुँदासम्म काँग्रेस चुप लागेर बस्दैन ।’

शान्तिपूर्ण रूपमा सभा समारोह गर्न पाउने अधिकार सबैमा रहेको र त्यसैको लागि काँग्रेस सात सालदेखि अनवरत लड्दै आएको हुँदा भविष्यमा पनि लडिरहने सभापति देउवाले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्