Logo

जनताका अधिकारका लागि सडकमा लड्न तयार छौँ : सभापति देउवा



Spread the love

६ असोज, काठमाडौँ l नेकपाको सरकारले ठुला आयोजना विना प्रतिस्पर्धा ठेक्का दिएर भ्रष्टाचार बढाएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् l

आज राजधानीमा ‘नेकपा सरकारका काण्डै काण्ड’ पुस्तक विमोचन गर्दै सभापति देउवाले भने, ‘यो सरकार बनेदेखि विना प्रतिस्पर्धा नै आयोजनाका ठेक्का दिएको छ । जहाँ विना प्रतिस्पर्धा ठेक्का दिइन्छ त्यहाँ ठुलो भ्रष्टाचार भएको छ ।’

केपी शर्मा ओली सरकारले विना प्रतिस्पर्धा बूढीगण्डकी आयोजना चाइना गेजुवालाई दिएको बताउँदै सभापति देउवाले भने, ‘जहाँ विना प्रतिस्पर्धा ठेक्का दिइन्छ त्यहाँ भष्ट्राचार भयो भयो, ठुलो रकम चलखेल हुन्छ ।’

सभापति देउवाले सरकारले सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताउँदै भने, ‘ओली सरकार भ्रष्टाचारमा शून्य सहनशीलता भन्छ तर विना प्रतिस्पर्धा ठेक्का दिन्छ । यो संविधान विपरीत छ l’

सरकारले जनताका प्रजातान्त्रिक अधिकार र मानव अधिकारमाथि हस्तक्षेप गरेको सभापति देउवाको आरोप छ । साथै सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा हस्तक्षेप बढाएमा काँग्रेस मुख बन्द गरेर बस्न नसक्ने बताउँदै सभापति देउवाले भने, ‘हामी २००७ सालदेखि लड्दै आएको पार्टी हो । जनताका अधिकारका लागि फेरि पनि सदन र सडकमा लड्न तयार छौँ l’

प्रतिक्रिया दिनुहोस्