Logo

इतिहासको समिकरण:आइन्स्टाइन,अमेरिका र जापान



Spread the love

lokendra bhandari“धर्तिमा पहिले कहिल्यै नदेखिएको, विनाशको वर्षा हुन सक्नेछ । ख्याल राख्नु !” संसारै थर्काउने गरी गर्जियो, अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रुम्यानको चेतावनी । कुरो हो, सन १९४५ अगस्ट तिरको । दोस्रो विश्वयुद्धको अन्तिम-अन्तिम तिर । एशिया क्षेत्रमा आफ्नो पकड बनाउन लागिपरेको थियो जापान । त्यहि रोक्न अमेरिका, यू.के. र चीन मिलिसकेका थिए । त्यो क्रममा अमेरिकाले जापानलाई चेतावनी दिँदै आत्मसमर्पणको लागि १६ घण्टा तोकिदियो । तर तिन दिन बितिसक्दा पनि झुक्ने सुरसारै देखाएन जापान । अनि बिग्रियो जापानको ग्रहदशा ।

“बड्याम्ब..अ.. बड्याम्ब..अ…” डरलाग्दो आवाज थियो त्यो । बिजुलीको गड्गडाहटको चर्को आवाज जस्तै । अहँ ! होइन । त्यो भन्दा निकै बढी । सँगै आँखामा झल्यास्स बिझ्ने उज्यालो पनि । केहि सोच्नै पाएनन् मान्छेहरु । क्षण भरमै ध्वस्त भइदियो सुन्दर सहर हिरोशिमा । बचेका पनि सहिसलामत कहाँ थिए र । च्याउ जस्तै धुवाँको बडेमान मुस्लो आकाशमा फैलियो । आगोका झिलिङ्गाहरु टिलिक टिलिक टल्किरहे । निला नदिहरु बिचको समृद्ध सहर, कालो नदिहरु बिचको मरुस्थल बन्न पुग्यो। फेरि तिन दिनपछि पालो आयो, नागासाकीको । जापानलाई मात्र होइन संसारै हल्लाइदियो, त्यो आवाजसहितको मुस्लोले । नभन्दै ती दृश्यहरु धर्तिमा पहिले कहिल्यै देखा परेका थिएनन् । झुट बोलेका थिएनन ट्रुम्यानले । मात्र चेतावनी थिएन त्यो । जुन भुल जापानले गर्यो ।

जापानमा “लिटिल ब्वाय” र “फ्याट म्यान” नामका अणु बम खसालिनु अघि नै विविध संकेतहरु देखिसकेका थिए । किनभने खाद्य अभाव प्रष्टै देखिदै थियो । साना केटाकेटीहरु स्कुल जान छोडेका थिए । छोडेको पनि के भन्नु ? बाआमाले नै पठाँउदैन्थे । बच्चाबच्चीले मिठाईको बक्समा पैसा राख्दा पैसै मात्र फिर्ता आउँथ्यो । तर पनि बच्चाबच्चीका आँखामा, बक्समा एउटा अन्तिम मिठाई छ भन्ने भाव देखिन्थ्यो । भायोलिन वादकहरुको भायोलिन घरको कुनै कुनामा थन्किएको थियो । सायद अब भायोलिन बज्ने वाला थिएन । अजिवको चिर शुन्यतामा बाँचे जस्तो गर्दै थिए मानिसहरु ।

नराम्रा खबर हावासरी फैलिन्छन । त्यस्तै नानाथरी खबर छ्याप छ्याप्ती थिए । सुनिदै थियो प्रशान्त क्षेत्रमा जापानी सेनाहरु मारिदै छन । अमेरिकी वायुसेनाका जहाजहरु आकाशमा छिट्टै देखिदै छन । त्यतिवेला जापानीहरुको उच्च मनोविज्ञान भयले निकै घटिसकेको थियो । जापानीहरुले आफ्नो संसारमा डरलाग्दो आँधीहुरीको प्रवेश भइरहेको आभाष गरिसकेका थिए । कोलाहल पछिको चिर शान्तिलाई टाढैबाट देखी सकेका थिए उनिहरुले । बदँलिदो समय र गिर्दो मनोभाव, दुबैले जोड जोडका साथ अपशकुनको डङ्का पिड्दै थिए ।

त्यो समय पनि आइपुग्यो, जतिबेला आकाशमा चराहरु उडेनन् । सडकका गल्लीहरुमा गितहरु गुन्जिन बिर्सिए । ससाना कलिला मुनाहरु पलाउन छोडे । हावा पनि शितल हुन छोड्यो । मात्र धुवाँ थियो । धुलो थियो । र च्याउका मुस्लाहरु पनि । समयको समिकरणको प्रतिफल थियो हिरोशिमा-नागासाकी काण्ड ।

समय यन्त्रमा चढेर एक पटक इतिहासतिर जाँउ है । करिब चालिस वर्ष अघिको समय । जतिबेला नजाँनिदो पाराले रोपिएका थिए,”धर्तिमा कहिल्यै नदेखिएका दृश्यहरुका बिउ ।”

सन १९०५ को वर्ष, आइन्सटाइनको जिवन र संसारको लागि चमत्कारी वर्ष । त्यहि वर्ष उनले भौतिक विज्ञानका लागि तीनवटा लेखहरु प्रकाशित गरे । जस मध्ये एउटा थियो “ई ‍बराबर एम. सी.स्क्वाएर” (E= mc2) । विज्ञानको लागि नयाँ सोचको धारणा थियो E= mc2 । अझ विस्तृत रुपमा भन्नु पर्दा उनले, “एक सानो अणुमा पनि असिमित शक्ति लुकेर बसेको हुन्छ” भनेर दुनियालाई बताएका थिए । यसरी ब्रह्माण्डमा जिवनको अस्तित्वको रहस्य समाधान भयो । “सूर्यलाई कसले शक्ति दिन्छ त ?” सूर्य बलिरहेको आगो मात्रै भएको भए त यो करोडौ वर्ष अघि निभि सक्नु पर्ने थियो ! जवाफ आइन्सटाइनको समिकरणले दियो। सुर्यमा निरन्तर पिण्ड (Mass), शक्ति (Energy) को रुपमा परिवर्तन भइरहेको छ । जसले गर्दा नै सुर्य अरबौ वर्ष देखि जिवित रहेको छ । यहि सिद्धान्तलाई ध्यानमा राखी, “पृथ्वीमा पनि धेरै मात्रामा शक्ति निष्कासन गर्न सकिन्छ” भन्ने कुरा मानिसहरु परिकल्पना गर्न थाले । त्यतिबेला त्यो समाचार संसारको हट केक बन्न पुग्यो । जताततै त्यसको चर्चा परिचर्चा चल्न थाल्यो ।

ठ्याक्कै त्यहि बेला अष्ट्रियामा, हिटलरमा पेन्टिङको रहर पलाएको थियो । रहर पुरा गर्न राजधानी भियाना पुग्यो उ । रहर गर्दैमा सबै पुरा कहाँ हुन्छन र ! एकाडेमी अफ फाइन आर्टसमा आवेदन दियो । तर डाइरेक्टरले पेन्टिङको लागि योग्य नभएको भन्दै अस्विकार गरिदिए । बरु आर्किटेक्चर पढ्नु भनेर सल्लाह दिए । हिटलरमा आर्किटेक्चर पढ्ने पनि रहर थियो तर माध्यमिक तहको पढाइ योग्यता नभएकाले त्यो नि सपनै भयो । जिन्दगीमा निराशा बढ्नु सम्म बढ्यो हिटलरमा । लगतै हिटलर मातृशोकमा पनि पर्यो । अझ चिढचिढेपन बढ्यो उसमा । आर्थिक अभावले पनि त्यहिवेला च्याप्यो । भौतारिदै सडकका गल्लिहरुमा रात बिताउनु बाहेक केहि गर्न सकेन बिचराले ।

कहाँ उस्तै हुन्छ र ! सधै समय । समय पनि समयसँगै बदलियो । सन १९१४ मा पहिलो विश्वयुद्ध सुरु हुदै थियो । हिटलरमा पनि जोशहरु भरिदै थिए । तिनै समयले भरेका जोशले काम गरेको हुनुपर्छ । पहिलो विश्वयुद्धमा जर्मन सेनाबाट हिटलरले पनि भाग लिने सोच्यो । र लियो पनि । बाह्र वर्ष पछि त खोला पनि फर्केर आँउछ भन्छन नि । त्यस्तै हिटलरको लागि पनि समय फर्केर आयो । जर्मनी पराजित भयो तर हिटलरले भने जित्यो । आफ्नो आत्मबल । जसले गर्दा नै सपनाहरु पाल्ने शक्ति आयो उसमा ।

विश्वयुद्धको पराजयले जर्मनीलाई धराशयी पारेको थियो । जर्मनहरु वेरोजगारी र अभावमा बाँचिरहेका थिए । हिटलरलाई भने यहुदीहरुले गर्दा आफ्नो आर्यन जाति पछि परेको भन्ने सोच थियो । उ सोच्थ्यो कि,”आर्यन जाति नै सच्चा जर्मन हुन । यहुदीहरुले बाहिरी मुलूकबाट आएर जर्मनीको उच्च ओहदामा कब्जा गरेका छन। आर्यन जातिको हक अधिकार खोसेका छन ।” यहि सोचका साथ उ राजनितिमा छिर्यो । दमदार बोली र चरम आकांक्षा त हिटलरमा छदै थियो । जसले गर्दा ऊ सबैको नजरमा परिहाल्न गाह्रो परेन । उसको कट्टर विचार नै थियो “यहुदिहरु नै जर्मनीका दुश्मनहरु हुन । पुरै यहुदीलाई जर्मनबाट नामोनिसान मेटाउनु पर्छ ।“ र त्यतिवेला आर्यन जाति जर्मनीमा धेरै वेरोजगार र हतास थिए । उनिहरुलाई कोहि मशिहा चाहिएको थियो । जुन उनिहरुले हिटलरमा देखे र साथ दिइरहे । दिनानुदिन बढ्दै गइरह्यो त्यो साथ ।

त्यहि क्रममा सन १९३३ मा जर्मनीमा हिटलरको युग उदायो । कहिल्यै नअस्ताउने दम्भका साथ । उसले बिर्सिएको थियो कि संसारमा उदाउनेहरु अस्ताउछन पनि । फुल्नेहरु मुर्झाउछन पनि । हो, उसले बिर्सिएको थियो – “उ जन्मिएको थियो मर्नको लागि ।” सृष्टीको नियम बिर्सिएर नै नरसंहारबाट विश्वविजेता बन्ने दुःस्वप्न देखेको थियो हिटलरले ।

यहुदी ( Jewish ) जातिका सबै मानिसहरुलाई हिटलरले जर्मनमा सबै पदबाट अपदस्थ गरी सखाप पार्ने योजना बनाएको थियो । त्यहि योजना मुताविक हिटलरले यहुदी जातिको सर्वनाश तिर बढिरहेको थियो । त्यहि डरले नै यहुदीहरु जर्मन छोड्दै थिए । सबै घरवार त्यागेर एउटा सुकुम्वासीको रुपमा । तिनै मध्य एक थिए अल्बर्ट आइन्सटाइन- शताव्दीका महापुरुष ।

सन १९३३ मा नै आइन्स्टाइन अमेरिका सरे । अमेरिकामा आइन्स्टाइन एक यूनिभर्सिटीमै काम गरिरहेको बेला हिटलरले मच्चाएको दोस्रो विश्वयूद्ध चरम सिमामा पुग्यो । सन १९४० को दशकतिर अमेरिकीहरुलाई एउटा डरको भय उत्पन्न हुन्छ । कि कतै आइन्स्टाइनको शक्ति (E), पिण्ड(M) र प्रकाशको गति(C) को सिद्धान्त पछ्याएर हिटलरले पहिले नै आणविक हतियार नबनाईहालोस । हिटलरले आणविक शक्ति बनाइहाले झन विध्वंश मच्चाउदै हिड्ने तय थियो । यो कुराको डर आइन्स्टाइनलाई पनि थियो । त्यसैले अमेरिकाले नै त्यो भन्दा पहिले आणविक हतियार बनाएर सम्भावित विनाशलाई रोकोस भन्ने सोच गरे आइन्स्टाइनले । त्यसको लागि उनले तत्कालिन अमेरिकी राष्ट्रपति फ्रयांक्लिन डी. रुजवेल्टलाई चिठी लेखे । जसमा भनिएको थियो कि युरानियम तत्वलाई शक्तिको रुपमा परिवर्तन गर्न सकिन्छ । जसबाट अणु बम बनाउन मिल्छ । आइन्स्टाइनको चिठीको प्रेरणाले अमेरिका आणविक हतियार बनाउन सुरु गर्यो । र सफल पनि भयो । जसलाई अमेरिकाले “म्यानह्याट्टन प्रोजेक्ट” भनेर नाम दियो ।

सन १९४५ तिर जर्मनी चारै दिशाबाट हारिरहेको थियो । अन्त्यमा हिटलरको चरम अत्याचार सुस्ताउनै पर्यो । तर उता जापान एशियामा आफ्नो कब्जा जमाउन आफ्नै तरिकाले अगाडी बढिरहेको हुन्छ । त्यतिवेला अमेरिकामा रुजवेल्टको कार्यकाल सकिसकेको थियो । ह्यारी ट्रुम्यानले राष्ट्रपतिको कार्यभार सम्हालिरहेका थिए । उनले नै जापानलाई रोक्न सन १९४५ अगस्ट ६ र ९ मा हिरोशिमा, नागासाकीमा क्रमश “लिटिल ब्वाय” र “फ्याट म्यान” नाम गरेका दुई बमहरु खसालिदिन्छ । ति तिनै बम थिए , जुन म्यानह्याटन प्रोजेक्टमा अमेरिकाले निर्माण गरेको थियो ।

त्यो कुरा आइन्स्टाइनलाई पनि थाहा भयो । उनकै आविष्कारले त्यो परिस्तिथी सृजना भएको थियो । त्यसैले उनलाई निकै ग्लानिको महशुस भईरह्यो । आईन्स्टाइनले नचिताएको कुरा थियो त्यो । उनि त बस् आणविक हतियारको डर देखाएर हिटलरलाई रोक्न चाहन्थे । तर उनकै सिद्धान्तका कारण जापानका सुन्दर सहरहरु हिरोशिमा र नागासाकी ध्वस्त भएका थिए । त्यहाँ बस्ने सबै सोझा जापानीहरुको संसार क्षणभरमै खरानीमा परिवर्तन भएको थियो । त्यहाँ ससाना केटाकेटी थिए होलान । युवाहरु, अधवैशेहरु र वृद्धवृद्धाहरु पनि पक्कै हुनुपर्छ । त्यहाँ घरहरु थिए । स्कुल थिए । पवित्र धार्मिक स्थल पनि ठडिएका थिए । त्यहाँ सपना थिए अनि जिन्दगीहरु पनि । त्यहाँ सबै थिए । तर लिटिल ब्वाय र फ्याट म्यानको आगमन पछि त्यहाँ केबल धुवाँ धुलोको मुस्लो थियो ।

‍E= mc2 आइन्स्टाइनले सृजनाको समिकरणको रुपमा लिएका थिए । उनको त्यो सुत्रले संसारका सबै वस्तुहरुलाई प्रतिनिधित्व गर्थ्यो । चाहे त्यो सौर्यमण्डलको विशाल सूर्य होस या हामी पृथ्वीका साना मानिस । उनलाई यो विश्वास थियो कि यो सुत्रले मानव सभ्यताको उच्चतम बिन्दुमा पुग्नको लागि प्रयोग गरिने छ । सम्पुर्ण जनहितको लागि काममा आउनेछ । तर उनका अगाडी नै उनकै आविष्कार मृत्युको समिकरणको रुपमा परिवर्तन भइदियो । अन्तिम दिनहरुमा उनि भन्दै थिए – “रुजवेल्टलाई लेखिएको त्यो चिठी जिन्दगीको एउटा ठूलो गल्ती थियो ।”

आइन्स्टाइन त एक महान सर्जक थिए । धर्तिले पाएको एक अनमोल तारा । तर कतिपय महान उपलब्धी केहि गलत र स्वार्थि हातमा पर्दा नै दुरुपयोग भईदिन्छन । त्यहि भयो उनको मामिलामा । त्यो एक दुरुपयोगले आफुलाई दोषी ठान्दै पश्चातापमा बाँचिरहेकै बेला सन १९५५ मा आइन्स्टाइन महाप्रस्थान तिर लागे । उनको देहावशान पछि त्यो समिकरण सृजनाको रुपमा पनि प्रयोग भयो । तर त्यो देख्न उनलाई निकै ढिलो भइसकेको थियो । यसरी E= mc2 ले संसारको ईतिहास र आइन्स्टाइनलाई सधैभरको लागि परिवर्तन गरिदियो ।

फेरि जापान पहिले जस्तो कहिल्यै रहेन । हिरोशिमा र नागासाकीमा तत्कालिन असरहरु पछि पछि सम्म देखिरहे । त्यो विच जापानले देशको समृद्धीमा निकै फड्को मार्यो । हिटलर एउटा इतिहासको कुख्यात पात्रको रुपमा चित्रित भयो । आइन्स्टाइनले चर्चित वैज्ञानिकको लहरमा आफुलाई अगाडि उभ्याए । ‘समय’ समयका रङहरुलाई समयसँगै खुइल्याउदै दौडिरह्यो । तर  जस्तो भए पनि ईतिहासको घडीले निर्धारण गरेको समयको समिकरण “आइन्स्टाइन-हिटलर-अमेरिका-जापान”  न जापानले बिर्सियो , न त संसारले नै ।

प्रतिक्रिया दिनुहोस्