Logo

कविता : गणतन्त्रका भगवानहरु



Spread the love

मोहित जोशी

भगवानले सुन्न छोडेको कुरामा

कसैले भनिदियो,

“भगवान मरिसक्यो !”

र, जन्मिए

सुनेजस्तो गरिदिने भगवान,

जो बोल्छन् मनिफेस्टोको भाषा ।

किन यी भगवानहरु उत्तरलाई

प्रश्न बनाउन खोजिरहेछन् ?

परदेशीएको छोरो फिर्ता आओस् भन्दै

पुज्दै गरेको पुकार सुन्दा,

बाकसमा पठाइदिन्छ छोरो !

अहिले त्यो बुवा सुनाउँदैन आफ्ना चाहना

बस् सधैँ खोज्छ

एक सुकेको रुख र आगो लगाइदिन्छ ।

अनि हेरिरहन्छ दिनहुँ आफ्नै हातको घडी,

खै ऊ के पर्खिरहेछ ?

आमा बन्ने रहर थियो उसको

अस्पताल नबन्दा गाउँमा,

झाँक्री डाक्टर भयो ।

उपचारको नाममा एकान्तमा

गरियो जबरजस्ती करणी,

चुपचाप बसिन् उनी,

छोरी जन्मिदाँ परिवारले बच्चा फ्याकिदिए ।

अहिले ऊ दूध फाल्न

आफ्ना फोहोरी स्तन दबाउँदै हिड्छे ।

अन्न फलाउने किसान कै बच्चाको

भोको पेट कराइरहेछ,

सुन्दै सुन्दैन !

परिवार पाल्न नसक्दा

आफैँ बिउँ बनेर दफन हुन खोज्दैछ किसान ।

एक वेश्याको पनि बलात्कार हुदाँ

ऊ दुखेकै कारण कराउँछे,

भगवान सुन्दैनन् सायद हस्तमैथुन गरिरहेछन् !

मनुष्य नै त लडाइदिन्छ धर्महरु,

लडाइदिन्छ रातो र हरियो रङ,

डेमोक्रेटिक र कम्युनिस्ट धर्म,

बन्नलाई भगवान ।

यहाँ भगवानको पनि चुनाव जो हुन्छ !

भगवानले जन्माएको मनुष्य,

भगवानको हत्यारा मनुष्य,

भगवान फेरी जन्माउने पनि मनुष्य ।

आखिर उसलाई भगवान नै जो बन्नु थियो ।

मृत्यु कुर्न बालाई वृद्दाश्रम छोडी

आफैँ बा बन्न हत्तारिने छोरो

जस्तै भयो भगवानपुत्र मनुष्य पनि !!

भगवान पनि सम्झिँरहदो हो

मृत करार हुनु अघि अन्तिम घडीमा,

बच्चो जन्माउँदै डस्टबिनमा छोड्ने बाआमा !

एक तानाशाह भगवानबाटै,

सुताइदैछ उसलाई जिउदै चितामा ।

ऊ, जो थिएन कहिल्यै नास्तिक,

केवल भगवानले नसुनिदिदा

नास्तिक बन्न खोजीरहेछ !

एक नास्तिक,

जो नास्तिक रहेरै भगवान बन्न चाहन्छ ।

नास्तिकहरुको जमातमा

एक बलियो नास्तिक नै

भगवान जो बनिरहन्छन् ।

नास्तिक हुनु,

यहाँ भगवान नमान्नु हैन,

भगवानसँग रिसाउनु भएको छ ।

किनकी भगवान छन् भन्ने सबैलाई थाहा छ,

तानाशाही भगवानहरु

दानपत्र पल्किएका भगवानहरु

निकै बेसुरो सुन्छन् कानुनी मन्दिरको घन्टी,

र रमाउँछन् भक्तहरुको बली चढाएर ।

समस्या सुनाउँदा भाग्न खोज्ने,

यी भाग-वानहरु,

आफ्नो मात्र समृद्धि खोज्ने,

खुद-आ हरु,

आफ्नै चाकडिया भक्तहरुमा रमाइरहेछन् ।

कुन मन्दिरमा जादैछौ यात्री ?

यी भगवान खोज्ने नै भए

दिउँसो बालुवाटार जानू

या, साझ कुनै भट्टि

या त, राती एक वेश्यालय !

साच्चै धर्म जनताका लागी अफिम नै रहेछ ।

ओ नित्से !

तिमीले यो के गर्यौ ?

तिमीले भगवानको मृत्यु पत्र नछापेको भए

सायद यी भगवानहरु भगवानसँग डराउँथे कि ?

०००

मोहित जोशीबाट थप :

१. मोहित जोशीको गजल

२. मोहित जोशीको गजल !!!

३. आमा !!!

०००

०००

प्रतिक्रिया दिनुहोस्