Logo

कसरी भयो जुत्ताको आविष्कार?



Spread the love

एजेन्सीप्राचीन कालमा आदि मानवहरुले नांगो खुट्टाले बन जंगल तथा डाँडा काँडातिर हिँड्डुल गर्न तथा दौडने गर्दथ्यो । त्यसरी नांगो खुट्टाले हिँड्डुल गर्दा काँडाले घोचेर अति नै पीडा दिन्थ्यो । यस पिडाबाट छुटकारा पाउन आदिमानवहरुले आफ्नो खुट्टालाई ढाक्नुपर्ने महसूस गरे । त्यसका लागि उनीहरुले घाँसको मुठो, काठको टुक्रा, भुत्लायुक्त छाला जस्ता कुराहरुलाई खुट्टामा बाँध्न थाले । यो नै जुत्ताको प्राचीन रुप थियो ।

खासमा यो प्राचीन जुत्ता आधुनिक जुत्ताजस्तो नभएर चप्पलजस्तो आकारको थियो । पैतलामा बाक्लोगरी घाँस, काठको टुक्रा वा भुत्ला भएको छाला राखेर त्यसलाई खुट्टाको औंलाहरु तथा गोलीगाँठातिर बानिन्थ्यो ।

यो त भयो प्राचीन युगका मानिसहरुको कुरा । पछि मानव सभ्यताको विकास भएपछि जुत्ता बनाउने पहिलो मानव इजिप्टवासी थिए । तिनीहरु छालाको प्याड वा पेपीरस नामक विरुवाको प्याडलाई जुत्ताको रुपमा प्रयोग गर्ने गर्दथे ।

इजिप्टवासीहरुभन्दा अझ अगाडि बढेर रोमनहरुले जुत्तालाई अझ विकसित तुल्याए । रोमनहरुले बनाएको जुत्तालाई calceus भनिन्थ्यो । यो जुत्ताको पछिल्लो छेउमा खुट्टा घुसार्ने खुला भाग हुन्थ्यो भने अगाडि चाहिँ औला छिराउने भाग राखेर गाँठो पारिएको हुन्थ्यो ।

उता चीसो क्षेत्रका वासिन्दाहरुले चाहिँ भिन्नै किसिमका जुत्ताहरु अलग्गै विकसित गरे । तिनीहरुले घाँसबाट बनाइएको गद्दादार प्याड भएको थैलो आट्टनो खुट्टामा घुँडासम्म बाँध्ने गर्थे । खुट्टा ढाक्ने यही थैलो समयकालमा पछि गएर एस्किमो तथा आदिवासीहरुले लगाउने जुत्ताको रुपमा विकसित हुन पुग्यो ।

आधुनिक जुत्ताको जन्मदाताको श्रेय चाहिँ योद्धा वर्गहरुलाई जान्छ । योद्धा वर्गहरु लडाईं गर्ने क्रममा लामो यात्रामा जानुपर्ने हुन्थ्यो । यहि क्रममा पछि गएर टिकाउ, बलियो र आकर्षक हुने छालाको जुत्ताको आविस्कार भयो । सर्बप्रथम यस्ता जुत्ताहरु इटाली, फ्रान्स र इंग्ल्याण्डमा देखा पर्न थाले ।

इंग्ल्याण्डमा सम्राट जेम्स प्रथमको पालामा अग्लो हिल र छोटो छाला भएको जुत्ताको फेशन समाजमा चलेको थियो । जुत्ता बनाउने कारखानाको सुरुवात सन् १६२९ मा अमेरिकाबाट भएको हो । त्यसबेला थोमस वियर्डले घुमन्ते कोलनीको लागि जुत्ता बनाउने ठेक्का लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्