Logo

यसकारण जुनकिरीको जीउमा बत्ती बल्ने गर्छ!



Spread the love

एजेन्सी । तपाईंले जुनकिरीको जीउमा कहिले बल्ने र कहिले निभ्ने बत्ती पनि देख्नु भएको छ होला । विशेष गरेर स–साना केटाकेटीहरु त्यसको अनौठो बत्ती देखेर मनमोहित हुने गर्छन् । त्यही भएर उनीहरु हातले समाउन मन पराउँछन् । वैज्ञानिकहरु पनि त्यसको शरीरमा हुने अनौठो क्रियाकलापको बारेमा धेरै लामो समयदेखि अध्ययन गरिरहेका छन् ।

अरु बत्तीहरु बल्दा ताप उत्पन्न हुन्छ तर जुनकिरीको बत्ती भने तापबिना नै बल्ने गर्छ । यसरी उत्पन्न हुने विशेष खाले प्रकाशलाई Luminescence भनिन्छ । जुनकिरीमा यस्तो प्रकाश लुचिफेरिन नामक तत्त्वको कारणले उत्पन्न हुने गर्छ । यो तत्त्व अक्सिजनसँग मिलेर प्रकाश उत्पन्न गर्ने गर्छ ।

तर प्रकाश उत्पन्न गर्ने यो प्रक्रिया Luciferase नामक अर्को तत्त्व नभएसम्म सम्भव हुँदैन । ल्यूसिफेरेजले यो रासायनिक प्रक्रिया पूरा गर्न मद्दत गर्छ तर आफू स्वयम् भने यो प्रक्रियामा संलग्न हुँदैन । जुनकिरीको शरीरमा यी दुबै तत्त्वहरु हुने गर्छन् । लुसिफेरेजले लुसिफेरिनलाई अक्सिजनसँग मिलेर बल्नमा मद्दत गर्छ ।

जुनकिरीले यस्तो प्रकाश किन उत्पन्न गर्छ त ? यो प्रश्न पनि तपाईंहरुको मनमा उठ्न सक्छ । यसको बारेमा वैज्ञानिकहरुले विभिन्न विचारहरु प्रस्तुत गरेका छन् । कसैले उनीहरु आफ्नो जोडी खोज्नका लागि यस्तो प्रकाश उत्पन्न गर्ने गर्छन् भनेका छन् । कसैले भने तिनीहरुले राती सिकार गर्ने चराहरुलाई तर्साउन त्यसो गर्ने गरेको कुरा अघि सारेका छन् । यसले तिनीहरु त्यस्ता चराहरुको आहारा हुनबाट बच्ने कुरा पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्