Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३४१
संक्रमित
६२,७९७
निको भएका
४५,२६७

हामीले हाम्रो साहित्य मापनको जमिन पर्याप्त मात्रामा खडा गर्न सकेका छैनौँ ।



हामीले हाम्रो साहित्य मापनको जमिन पर्याप्त मात्रामा खडा गर्न सकेका छैनौँ ।

वि.स. २०२८ साल असोज १९ गते, मङ्गलवार पिता कृष्ण पाख्रिन र माता कुमारी मोक्तानको सुपुत्रको रूपमा धरानमा जन्मिएका सुदीप पाख्रिन हाल कृष्ण पाख्रिन मार्ग- वार्ड नं. ३, धरानमा बसोबास गर्दछन् । श्री शिक्षा सदन माध्यमिक विद्यालय, धरानबाट एस. एल. सी. सकेका पाख्रिनले  महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट अङ्ग्रेजी र राजनीति शास्त्रमा स्नातक सकेका छन् ।

कलरव, धरानका संस्थापक सदस्य रहेका पाख्रिन मोती संस्मरण समिति, धरानका सचिव समेत हुन् ।  कृष्ण भूषण बल युवा सिर्जना पुरस्कार, २०७५ बाट सम्मानित पाख्रिनको आदिम मौनता (कविता सङ्ग्रह-२०६७)दगुरिहिँड्ने चौबाटो ( कविता सङ्ग्रह-२०७३) प्रकाशित छ ।  हाल उनी पर्ल किन्डरगार्टेन, धरान- १५ मा संलग्न छन् ।

Image may contain: Sudeep PakhrinImage may contain: Sudeep Pakhrin, smiling, textकवि सुदीप पाख्रिनका प्रकाशित कृतिहरू : आदिम मौनता (कविता सङ्ग्रह-२०६७)दगुरिहिँड्ने चौबाटो ( कविता सङ्ग्रह-२०७३)


०००

प्रस्तुत छ, सर्जक अफ द विकका लागि कवि सुदीप पाख्रिनसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- कविताले तपाईँको बाटो काट्छ कि तपाईँ कविता बाटोमा हिँड्नुहुन्छ ? कविता  ‘क्लिक’ कसरी हुन्छ ? कविता सिर्जना गरिरहँदा के कस्ता अनुशासन हुन्छन्, तपाईँको ?

पाख्रिन- राजुजीलाई थाहा होला, नहोला ? मेरो बुवा कृष्ण पाख्रिन प्रभावशाली कवि हुनुहुन्थ्यो, हुनुहुन्छ । २०, ३० र ४० दशकको समय भनेको धरानको साहित्यिक गतिविधिको हिसाबले स्वर्णकालिन समय थियो । जुन त्यो बेलाका बलशाली कविहरू नरेश शाक्य, वेणु आचार्य, कुन्ता शर्मा, बम देवान, बद्री पलिखेजस्ताहरुका सक्रियताका कारणले सम्भव भएका हुन् । त्यो बेला भेला हुने, कविता सुन्ने सुनाउने, सुनाइएका प्रत्येक कविताको प्रत्येक आयाममाथि गहिरो छलफल गर्ने कामहरू निकै सघन रूपमा हुने गर्दथे ।

त्यस्ता भेलाहरू हुने ठाउँहरूमध्येमा हाम्रो घर पनि हुने गर्दथ्यो । यसरी घरको वातावरण नै पुरै साहित्यिक थियो । कुनामा बसेर चुपचाप सुन्ने श्रोता म पनि थिए । त्यो पनि सानैदेखि । होस खुल्दैदेखि । सानैदेखि कविताहरू वरिपरि राखेर हुर्किएको मान्छे म । कविता कहिले म भएर गुज्रिए होलान् त कहिले म कविता भएर गुज्रिए । हिसाबै छैन ।

कविता ‘क्लिक’ हुने त्यस्तो कुनै खास ‘मुड’ र समय छैन मेरो । त्यस्तो कुनै नौलो परिस्थिति पनि चाहिन्न । जहिले जतैपनि कविता लेख्ने वातावरण बन्न सक्छ । हिँड्दा हिँड्दै उभिएर मोबाइलको नोटमा पनि ‘टाइप’ गरेर ‘सेभ’ गरेको छु कतिपटक- कविताहरू । बिहानै मिर्मिरेमा लेखेका छु कविताहरू त कहिले सुतेका बेला मध्यरातमा उठेर पनि । तर, मलाई कविता लेख्न ‘कम्प्युटर’ नै चाहिन्छ । नभएपनि मोबाइल । डायरी र पेनले मुड नै बन्दैन अचेल । थुप्रै भयो ।

राजु- एकातर्फ- हाम्रो वर्तमान साहित्यमा पाश्चात्य साहित्यको प्रचुर प्रभाव देखिन्छ, प्रायशः पाश्चात्य र विशेषतः अङ्ग्रेजी साहित्यकेन्द्री प्रभाव । अर्कोतर्फ- समालोचना समेत अन्त्यमा अङ्ग्रेजी साहित्यसँग तुलना गरेर टुङ्गिन्छन् । नेपाली साहित्यलाई पाश्चात्य साहित्यको कसी लगाउनु आवश्यक छ ? तपाईँको यसप्रति व्यक्तिगत भनाई के छ ?

पाख्रिन- ‘ग्लोकलाइजेशन’को समय हो यो । अर्थात् ‘ग्लोबल’ र ‘लोकल’ मिलेर बनिएको समय । प्रविधिले संसारभरिका मानिसलाई एउटै गाउँलेजस्तै हौ भन्ने अनुभूत गराइरहेको समय हो यो । यस्तोमा कोही कसैबाट, कतैबाट प्रभाव पर्नु भनेको अनौठो कुरा होइन भन्ने मलाई लाग्छ । मूल कुरा प्रभावमा रहेर पनि ‘आफ्नोपन’ कति दिन सकियो भन्ने हो ।

समालोचनामा पनि सोही कुरा लागु हुन्छ । तर, एउटा कुरा साँचो चाहिँ के पनि हो भने नेपाली साहित्यलाई कसीमा जाँच्नलाई पर्याप्त मात्रामा समालोचनात्मक काम गर्न सकिएको छैन । हामीले हाम्रो साहित्य मापनको जमिन पर्याप्त मात्रामा खडा गर्न सकेका छैनौँ । यो विडम्बना पनि हो ।

राजु- समकालीन नेपाली साहित्यमा  ‘चिन्तनको बटुलाबटुल’ शुरु भएको छ भनेर मान्ने एउटा झुण्ड छ । अहिलेको साहित्य व्यावहारिक र प्रभावपरक समेत नभई ‘रोनाधोना ‘मात्रै सीमित छ भनेर आरोप लगाउने अर्को झुण्ड छ । खासमा कुरा के हो ? तपाईँ कता पर्नुहुन्छ ? तपाईँका कविताहरू कता पर्छन् ?

पाख्रिन- एउटा कुरा- मान्छेहरू फरक फरक समयमा फरक फरक अनुभूतिहरूबाट गुज्रिरहेका हुन्छन् । मान्छे सधैँ क्रान्तिकारी रहीरहन सक्दैन । सधैँ प्रेमील पनि रहँदैन । ‘हैन, म सधैँ क्रान्ति गरिरहन्छु’ भन्नु एउटा ठुलो ढोङ हो । त्यस्तालाई म चाहिँ पत्याउँदिन । त्यस्तै मान्छे सधैँ प्रेमी पनि रही रहँदैन ।

दोस्रो कुरा- हामीले ‘विचार’ भन्ने बित्तिकै राजनीति भन्ने लाउन थाल्यौँ । अरूमा विचार देख्दैनौँ । धेरै कुराहरू छन् । प्रेम नै छ । घृणा पनि छ । दर्शन, धर्म, खेल अनेक छन् । विचार राख्नको लागि विषयहरू । हामीले के भन्न थाल्यौँ भने राजनीतिभन्दा बाहिर ‘विचार’ नै छैन । प्रेम लेख्यौ भने, कवितामा प्रेममाथि वैचारिक अनुभूति राख्यौँ भने ‘खैँ त विचार ?’ भन्न थाल्यौँ । खेल्नलाई यति धेरै जमिन उपलब्ध छन्, हामी चाहिँ कुवाभन्दा बाहिर निक्लिएनौँ र आफ्नो शरीर फुलाई रह्यौँ । घाटा त हामीलाई छ । रुनुमा नै पनि त विचार हुन्छ नि, हुन्न र ? ‘कथार्सिस’ त्यसै त आएको होइन नि । हुन् त ?

यहाँ त रोए भनेर रुनेहरू पनि छन् । नारा भनेर रुनेहरू पनि छन् । दुवैथरिमा रुनेहरू छन् । नारा भन्दा भन्दै कति चाहिँ ‘कविता’ भन्यौँ ? विचार भन्दा भन्दै कति चाहिँ ‘कविता’ भन्यौ ?- भन्ने कुरामा चाहिँ खयाल गर्‍यौँ भने फाइदा होला ।

राजु- सूचना र प्रविधिमा नेपालले मारेको फड्कोबाट साहित्य बाहिर छैन । ‘भर्चुअल दुनियाँ’मा नेपाली साहित्य प्रभाव दिनानुदिन बढ्दो छ । समकालीन अवस्थामा अनलाइन मिडीयाको माध्यमद्वारा नेपाली साहित्यको उत्थान भइरहेको हो ? नेपाली साहित्य र प्रविधिबिच कस्तो तादात्म्यता भेट्नुहुन्छ ?

पाख्रिन- कुनै पनि चिज जसले समय अनुकूल आफूमा परिवर्तन ल्याउन सक्दैन । मर्छ । साहित्यको सार्वजनिकीकरण अथवा भनौँ प्रकाशन,  यसबाट अछुतो रहन सक्दैन । पछिल्लो समयमा भएको ‘भर्चुअल प्रभाव’ सकारात्मक छ भन्ने लाग्छ । अब ‘दूध’ पिएर दुधको मात्रा मात्रै ग्रहण गरेर पानी जति चाहिँ निष्कासन गर्ने ‘पानीहाँस’ त आफैँ हुनु पर्‍यो नि । र, यसको नियमन र ‘फिल्टर’ गर्ने काम सरकारको हो । म चाहिँ एकदमै ‘पोजेटिभ’ छु- पछिल्लो विकासक्रमप्रति ।

०००

प्रस्तुत छ, पाख्रिनका तीन कविता:


पहिलो कविता

एउटा नदीको कुरा

चुपचाप बगिरहन्छ नदी……

किनारमै घरहरू बनाओस् कैयौँ- मललब छैन
भाँचेर छेउकुनाहरुबाट कुलो लगोस्, नहर लगोस्
या लगोस् घरघरमै- मतलब छैन ।

चुपचाप बगिरहन्छ नदी…….

कुरौटे छन् यी मौसमहरु
कान फुकिरहन्छ नदीको
– मतलब छैन ।

जिउमै नाउ कुदाउँछन्, डुङ्गा चलाउँछन्
थिल्थिलो होउञ्जेल जहाज दौडाउँछन्
बिना कारण थुन्छन् कतै
त बिना कारण अति नै खोलिदिन्छन् कतै- मतलब छैन ।
गुनासो नामको कुनै चिज गर्दैन नदी ।

चुपचाप–चुपचाप बगिरहन्छ……..

निकै इर्ष्यालु छ बरू मौसम……
कान भरिरहन्छ नदीको
प्रत्येक असार साउनमा ।

चुपचाप बगिरहन्छ तर नदी ।

कैलेकाहीँ
हो, कैलेकाहीँ
मानसिक सन्तुलन गुमाउँदछ, नदी ।

०००


दोस्रो कविता

कविताजस्तो केही

लेख्दालेख्दैको डायरीबाट
भर्खरै उडेर गएको छ
कविताजस्तो केही

टिपेर जसलाई…………………….

उदाएको छ — फुर्के घाम
र, नृत्य गरिरहेको छ छमछमी
हाँगा–हाँगा, पात–पात, आँगन–आँगन, कोठाचोटा र बरण्डामा

चम्किरहेछ जून
साथमा लिएर थुप्रै फुच्चे ताराहरू
आकाशको कालो पर्दामा प्रत्येक रात

उक्लिरहेका छन् पसिनै पसिना हुँदै
आवारा हुस्सुहरू
नीला डाँडाहरूको खुड्किलै खुड्किला

टिम्टिमाइरहेछन् जुनकिरीहरू
पौठेजोरी खेल्दै
यी कु्रर आदिम अन्धकारहरूसँग

गाइरहेछन् कोइलीहरू
झ्यालमै चढेर
कुहु……… कुहु………… धून

झर……. झर…… सङ्गीत सुनाउँदै
किनाराका बैसालु रुखहरूलाई
बगिरहेछन्— यी झरना, खोला, नदीहरू

ईश्वरजस्ता देखिन्छन् आफ्नै पनि
यी बाटाचौबाटाहरू
बोकेर पाठशाला हिँडिरहेका ईश्वरकै अनुहारका बालबालिकाहरू

आलाप्छन् चराका चिरबिर शाष्त्रिय रागहरू
यी सुनौला बिहानीहरू र न्यास्रा साँझहरू
हरिया हाँगाहरूमा झुन्डिँदै प्रत्येक दिन सधैँ यसरी नै

मेरो सपनाकै रुपाकृति लिएर
टाँगिन्छ आकाशमा इन्द्रेणी
र, बजाउँछ भ्वायलिन — बर्सातको

फैलन्छ सुगन्ध तरुनी माटोको
वर्षाको जवान पहिलो थोपा आएर इत्रिएपछि
मुनाको मुस्कानसँगै लजाउँदै–लजाउँदै

जिस्किरहन्छ पठ्ठो यो हावा
तरुनी धान, गहुँका बालाहरूसँग
र, मख्ख पर्दै खेलाइरहन्छ हरिया कपालहरू तिनीहरूका

मग्मगाइरहेछन् — मगमगी…….
श्रम गरिरहेकाहरूको शरीरबाट पसिनाको फुल
र, फैलिरहेछन् गाउँ, सहर र मुलुकभरि

हजुरआमाको पटुकीको फेरबाट
कुनै जादुझैँ ह्वारह्वारती निस्कन्छ
रङ्गीबिरङ्गी दन्त्यकथा, जूनताराजस्ता आशिष् र रोटीका टुक्राहरू

मह घुलिन्छ
केटाकेटीको तोतेपनमा
र मोहक नृत्यभन्दा मोहक देखिन्छन् उनीहरूको चकचकेपन

झनै सुमधुर सुनिन्छ आमाको लोरी
र, थपिन्छ अझैँ न्यानोपन बुवाको धापमा
…………………….टिपेर जसलाई

टिपेर जसलाई………..
राक्षस विकृतिहरूका विपक्षमा
कठोरतापूर्वक उभिएपनि
सबैभन्दा कु्रर देखिएकाहरूको अगाडि
त्योभन्दा पनि क्रुरतापूर्वक खडा भए पनि
दुःखको सबैभन्दा असुन्दर पिँधमा खसेर
ओइलिई झरेको पातझैँ देखिएपनि
सबैभन्दा सुन्दर देखिन्छन् हरफका बुट्यान–बुट्यानमा
भर्खरै डायरीबाट उडिगएको कविताजस्तो केही

अचम्म छु !
अब यसलाई बन्द गर्नु फेरि डायरीमा
जसरी बन्द गर्नु घामका किरणहरूलाई बन्द बाकसमा
अथवा छोडिदिनु यसलाई यसरी नै प्रत्येक कुना–कुनामा

लेख्दालेख्दैको डायरीबाट
भर्खरै उडेर गएको छ
कविताजस्तो केही……………

०००


तेस्रो कविता

चैतको साँझ

चैतको कुरूप भित्तामा
धुलिंदै लहराइरहेका गोधूलीका चित्रहरू
शोक–गीत भैं स्वाँ…. स्वाँ…. चलिरहेका
उराठिला मौसमका कोलाहलहरू
साँझ विरक्तिकै चुपचाप छ !
विरक्तिकै साँझ चुपचाप छ !!

सडक चिच्याउँदै छ
कानै चपाउने उग्र यान्त्रिक आवाजहरू
सडक छेउका दोकानहरू कराउँदै छन्
पपगीत/फिल्मीगीतका मस्तिष्कै पकाउने चर्का धूनहरु
साँझ उराठिंदै मौन छ !
उराठिंदै साँझ मौन छ !!

कृत्रिम हल्लाहरूले थिचेका
चराहरूका सङ्गीतहरू
एक्सपोज्ड बैँसहरूका
भारी बोकिरहेका फुटपाथहरू
साँझ उकुसमुकुसिंदै शान्त छ !
उकुसमुकुसिंदै साँझ शान्त छ !!

तेलकासा, डण्डीबियो, लुकामारी
बिर्सिसकेका बालक गल्लीहरू
राजकुमार दिक्पालका मिथहरु र लोरीहरू
थाती राखेका सुकुमार निश्चल निन्द्राहरू
साँझ अत्तालिंदै निस्तब्ध छ !
अत्तालिंदै साँझ निस्तब्ध छ !!

साँझ छ-
यादहरूका कोलाजहरू छन्
अनि
गजलहरूका धूनहरूको तापक्रममा
पग्लिरहेको छ साँझ- आँखाहरूबाट !
पग्लिरहेको छ- चैतको साँझ !

०००

००००००

‘सर्जक अफ द विक’ सल्लेरी खबर र आभा For Creativity को संयुक्त प्रस्तुति हो ।

प्रस्तुति: राजु झल्लु प्रसाद

००००००

यो पनि पढ्नुहोस् :

मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् !

कविता जन्मिनु, आगो सल्किनु जस्तै हो…

कविता लेख्नु दुस्साहस हो, किनकी यो अभिलेख हो ।

कविता नै मेरो जिन्दगी हो ।

म साहित्यको साधक र उपासक हुँ ।

प्रतिक्रिया दिनुहोस्